हिमपहिरोले विस्थापित भएको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा एक सातापछि राहत पुगेको छ ।
जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा नाम्खा गाउँपालिका र विभिन्न संघ संस्थाको सहयोगमा दाल, चामल, तेल, चिउरा, भुजालगायत खाद्यान्न सामग्री तिलगाउँ पुगेको हो ।नाम्खा गाउँपालिका केन्द्र याल्वाङबाट गाडीमार्फत उक्त सामाग्री हल्जीसम्म लगिएको थियो। हल्जी गाउँबाट बोकेर आधा स्थानमा लगिएको थियो । त्यसपछि तिलगाउँबाट आएका घोडाहरुले बोकेर उक्त सामाग्री पुर्याएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले बताए ।
राहत पुगेपछि स्थानीयहरु खुसी भएका छन् । गाउँपालिका अधयक्ष प्रेमबहादुर लामाको नेतृ्त्वमा उक्त राहत सामग्री तिलगाउँ पुगेको हो । १ जेठको राति साढे १० बजेतिर दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी अहिले विस्थापित बनेका छन् । ५० घर मध्ये १८ घरधुरी बस्दै आएका तिलगाउँबासी अहिले भने त्रिपाल टाँगेर बस्ने बाध्य छन् ।
