१ असार, काठमाडौं । नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक नलाउन प्रतिपक्षी दलहरूले गरेको आग्रह नसुनी सभामुख देवराज घिमिरे अगाडि बढेका छन् ।
प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ र नाराबाजी गरिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसनमा उभिएर विरोध गरिरहेको छ । यस्तो अवस्थामा प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन संसदबाटै नेकपा एकीकृत समाजवादी र राप्रपाले सभामुख घिमिरेलाई आग्रह गरे ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रतिनिधिसभाको बैठक रोकेर सहमतिको लागि पहल लिन आग्रह गरेका थिए । तर, सभामुखले मानेनन् ।
संसद्मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए । अन्यथा, विरोधका बीच संसद् चलाउनु दादागिरी हुने उनको आग्रह छ । यसरी संसद् चलाउनु भयो संसदीय अभ्यास होइन । यो दादागिरी हो। दादागिरी बन्द गर्नुस्’ प्रमुख सचेतक शाहीले भने ।
तर, सभामुखले शाहीको आग्रह मानेनन् । प्रतिनिधिसभामा आकस्मिक समय चलाएर सभालाई कार्यसूचीमा अगाडि बढाए । यस्तो अवस्थामा प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाए । त्यसपछि राष्ट्रिय सभाबाट पारित भएर पुगेको विधेयकको सन्देश सुनाए ।
आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रस्तुत गर्न समय दिए । त्यसपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद्को बैठक नै स्थगित गर्न आग्रह गरे ।
