सुदूरपश्चिमले दिएको १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेटको क्षतिमा १७५ रन बनाउन सक्यो।पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ५३ रन जोड्ने क्रममा ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। भुर्तेल १६औ‍ं ओभरमा सुदूरपश्चिमका स्कट कुगेइलिनबाट बोल्ड भएपछि पोखराको आशा सकिएको थियो।

खराब सुरूवात गरेको पोखराका जिमी निशमले आक्रमक ब्याटिङ गर्दा पोखरा सम्हालिएको थियो। निशमले २५ बलमा २ चौका ५ छक्काको मद्दतमा ४७ रन बनाए। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ७५ रनको साझेदारी गरे। १२औं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीबाट बोल्ड हुनुअघि उनले सो ओभरमा लगातार दुई छक्का प्रहार गरेका थिए। तेस्रो बलमा निशमलाई बोल्ड गरेपछि उनले समरसल्ट सेलिब्रेसन गरेका थिए। 

पहिलो हापमा अस्ट्रेलियन ब्याटरद्वय जोश ब्राउन र क्रिस लिनको बिस्फोटक ब्याटिङको मद्दतमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरूद्ध ७ विकेटको क्षतिमा १९३ रन जोड्यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १० ओभरमै ९९ रन पूरा गरेको थियो। 

एनपिएलमा शनिबार दुई खेल हुनेछन्। विहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्। यस्तै दिउँस ३:३० मा विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।