२२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग मधेश प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रुपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरिन् । साथै पछिल्ला दिनमा मधेशमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरिन् ।

मधेश प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईँले जुन अभिभावकीय भूमिका खेल्नुभयो । आउँदो फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीहरुतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।

प्रदेश प्रमुख लाभले पनि प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न आफ्नो तर्फबाट प्रयास गरिरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र परिचालित भइरहेको जानकारी दिए ।

प्रदेश प्रमुख लाभले भेटका अवसरमा आफूले पदभार सम्हालेपछिका दुई महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्नुका साथै प्रधानमन्त्री कार्कीलाई मिथिलाका स्थानीय कलाकारले बनाएको जानकी मन्दिरको प्रतिमा र आफ्ना पुस्तक उपहार पनि दिए ।