सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अहिले मन्त्रिपरिषद्मा रहेका सबै जनाको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।अब चाँडै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने बताइएको छ ।
कानुनतः सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्छ । प्रधानमन्त्री र मन्त्रीले १५ दिनमा नै सार्वजनिक गर्ने परम्परा छ । तर यो पटक भने प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले मन्त्रिमण्डल गठन भएको एक वर्ष बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा भने प्रधानमन्त्रीसहित सबै मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् ।यसअघि मन्त्रिपरिषद कार्यव्यवस्था नियमावली संशोधन गरेर मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन पनि ल्याइएको थियो।
