मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गरेका हुन् ।

गत आइतबार गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवाले आफूलाई डेढ वर्ष प्रधानमन्त्री अफर गरेको र आफूले अस्वीकार गरेपछि संसदमा अवरोध गरेको आरोप लगाएका थिए । कांग्रेसका महामन्त्री गगन थापालाई कृषि अनुदान दुरुपयोग गरेको, विदेशीलाई सूचना बेचेको आदि आरोप लगाएका थिए ।

पाण्डेले आफ्ना सभापति र महामन्त्रीमाथि लगाएको आरोपको छानबिन गर्न पनि गृहमन्त्रीलाई चुनौती दिए । ‘हाम्रो पार्टीका सभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ । म चुनौती दिन चाहन्छु के कस्तो खालको टिओर बनाउनुपर्ने हो बनाउनुहोस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओरमा लेख्नुपर्ने हो कि, व्यक्तिको लेख्नुपर्ने हो कि, नेपाली कांग्रेस पार्टीको लेख्नुपर्ने हो लेख्नुस् । छानबिनको समय पनि तोक्नुहोस्’, उनले भनेका छन् ।छानबिनपछि आउने निष्कर्ष स्वीकार गर्न आफूहरु तयार रहेको उनले बताए ।

गृहमन्त्रीले राष्ट्रको सूचना बेच्ने व्यक्ति संसदमै छन् भनेको भन्दै पाण्डेले त्यो व्यक्ति देखाउन चुनौती दिए । ‘राष्ट्रिय सूचनाहरु बेच्ने एजेन्टहरु यही सदनमा छन् भन्नुभएको छ । गृहमन्त्रीज्यू को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्छौं । तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने माननीय गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउन, त्यो कामबाट पनि हामी चुक्ने छैनौं कांग्रेस सांसद पाण्डेले भने ।

पाण्डेले भनेका छन्, ‘उहाँले लगाएका आरोपहरु यदि सत्य हुन् भने प्रमाणित गरेर देखाउनलाई सभामुखज्यूको रुलिङ चाहियो । होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म आग्रह गर्न चाहन्छु ।’