काठमाडौं, जेठ २३ बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका चालक र हिमाल-तराई यातायातका चालकबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए।
काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्द गरेपछि चालकहरूबीच कुटाकुट भएको छ।दुई यातायातबीच मंगलबारदेखि नै विवाद भएको थियो।
त्यही कुरालाई लिएर बुधबार अरनिको यातायातको बागमती प्रदेश ०१-००६ ख ५५७१ नम्बरको गाडी सडकमा तेर्स्याएर अवरूद्ध गरिएको थियो।
सडक अवरूद्ध गरेपछि ट्राफिक प्रहरीले चालकलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ अरू दुई पक्षका चालकहरूबीच कुटाकुटको स्थिति बनेको हो। अहिले सडक खुलिसकेको प्रहरी निरीक्षक खतिवडाले बताए।
ती चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस विषयमा दुई पक्षबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।
