२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा काठमाडौं महानगरको योजनाअनुसार काम गर्नमा रोकेको बताइन् । यस्तो कार्यले स्थानीय सरकार हतोत्साहित हुने उनको भनाइ छ ।

कि स्थानीय तह सरकार सञ्चालन ऐन खारेज गरौं । स्थानीय तहको जुन संविधानमा परिकल्पना गरिएको छ, त्यो खारेज गरौं । होइन भने उनीहरूलाई काम गर्न किन नदिने ? सेजुवालको प्रश्न छ ।

जेठ २१ गते काठमाडौंको न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगरबीच विवाद भएको थियो । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक विभागले पिच गर्न थालेपछि न्यूरोडमा विवाद भएको थियो ।

फुटपाथ फराकिलो बनाउने भन्दै महानगरले भत्काएको न्यूरोड–इन्द्रचोकतर्फको सडक फेरि सडक विभागले बनाएको छ । विभागको यस्तो कार्यले बालेनको योजना कार्यान्वयन हुन नसकेको सांसद सेजुवालले बताइन् ।

न्यूरोड वसन्तपुर ठमेलमा किन गाडी हिंड्ने रोड चाहियो ? उनी प्रश्न गर्छिन् फराकिलो गर्नका लागि फुटपाथका व्यापारीहरूलाई श्रमजीवीहरूलाई हटाएको होइन ? बालेनको जुन उद्देश्य थियो जुन भिजन थियो त्यसलाई हामी समर्थन गर्छौं । म समर्थन गर्दछु ।