नेपाली यू-१९ महिला क्रिकेट टिमले पहिलो पटक आईसीसी यू-१९ महिला टी २० विश्वकपमा छनोट हुँदै इतिहास रचेर स्वदेश फर्किएको छ ।

आईसीसी यू-१९ महिला टी२० विश्वकप एसिया छनोटको च्याम्पियन बनेर बिहीबार स्वदेश फर्किएको टोलीलाई ब्याण्ड बाजासहित भव्य स्वागत गरिएको थियो । महिला क्रिकेट त्यसमा पनि उमेर समूहको प्रतियोगिता भएकोले छनोट खेल्न जानुअघि खासै चर्चा थिएन ।

जब नेपालले छनोटमा खेलहरु जित्दै गयो र अन्तिम खेलमा घरेलु टोली युएईलाई उसैको मैदानमा ८ विकेटले हराएर विश्वकपको टिकट काट्यो अनि युवा महिला क्रिकेट टोलीले पनि चर्चा पाउन थाल्यो । सिनियर टोलीबाट प्रतिनिधित्व गरिसकेकी अलराउण्डर पूजा महतोको नेतृत्वमा रहेको टोलीले यस पटक इतिहास रचेर देखायो ।

चार टोली सहभागी छनोटमा डबल राउण्ड रोबिनका आधारमा खेल खेलाइएको थियो र नेपाल र यूएईको समान १० अंक भएपनि नेट रनरेटमा नेपाल अघि रहँदै विश्वकपमा छनोट हुन सफल भयो ।