आगामी माघ ११ गते सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु (अन्तिम छेड्ने काम) हुने भएको छ।
सुरुङमार्गको ब्रेक थ्रुका लागि अहिले अन्तिम तयारी गरिएको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। यसअघि माघ १ गते गर्ने भनिएको ‘ब्रेक थ्रु’ लाई माघ ८ गते सारिएको थियो। आठ गतेलाई पनि सारेर माघ ११ गते ब्रेक थ्रु गर्ने तयारी गरिएको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए।
ब्रेक थ्रु का लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने छन्। ब्रेक थ्रु लाई उत्सवको रुपमा लिइएको र त्यसको लागि प्रधानमन्त्री समेत आउने भएकोले केहि दिन पछाडि लगिएको हो ।अधिकारीले भने।
ब्रेक थ्रु का लागि साढे १ मिटर भाग सुरक्षित रुपमा राखिएको छ। बाँकी रहेको सोहि भाग क्षेत्रलाई ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत हेटबक्स तर्फबाट खन्दै आएको सुरुङको मुख एकआपसमा जोडिने छ। आयोजनाका अनुसार दुबैतर्फको रिबसहित सुरुङमार्गको कुल लम्बाइ एकहजार १२६ मिटरको हुने भएपनि खन्नुपर्ने टनेलको भाग भने एकहजार ८९ मिटर मात्रै रहने छ।
त्यसमध्ये साढे १ मिटर मात्रै भाग ब्रेक थ्रु का लागि बाँकी राखेर एकहजार ८७.५ मिटर सुरुङ खनेर सकिएको आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन्। ज्ञवालीका अनुसार सिद्धबाबा मन्दिरतर्फबाट ६०८ र विद्युतको हेडबक्सतर्फबाट ४७९.५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक वर्षा होस् या हिउँद सधै पहिरोको उच्च जोखिममा पर्छ। सडकदेखि तल तिनाउ नदितर्फ अप्ठ्यारो भीर सहितको छांगो र माथीतर्फ अग्लो चट्टान सहितको पहाड भएकोले वर्षामा मात्र होईन हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ।
सोही जोखिमलाई मध्यनजर गरी सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माणको योजना अघि बढाइएको थियो। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइरहेको सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ।
उक्त कम्पनीले ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ साल फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तर, २०७९ साल अन्तिमतिर मात्र सुरुङ खन्ने काम सुरु गरेको थियो। झन्डै दुई वर्षमा सुरुङमार्गको मुख्य टनेलकै ब्रेक–थ्रु गर्ने अन्तिम तयारीमा पुगेको छ भने सुरुङको बीचबीचमा आपतकालीन द्वारकारुपमा राखिएका तीन वटा बाइपास सुरुङ ब्रेक थ्रु भइसकेका छन्।
