१० माघ, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहीबारदेखि ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली लागु भएको छ ।
भिजिबिलिटी समस्या समाधान गर्न यसअघि लागु गर्ने भनिएको ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रणालीलाई भारतले अनुमति नदिएपछि भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागु गरिएको हो । विशेषगरी मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुने समस्याले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान समेत स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि आरएनपी–एआर प्रणाली लागु गरिएको हो ।
आरएनपी–एआर प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । यो प्रणालीले भिजिबिलिटीका कारण उडान र अवतरणमा आइरहने अवरोध हटाउने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उनका अनुसार ४२ दिने सूचना प्रकाशन अवधि पूरा भएकाले आजदेखि भूउपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधि औपचारिक रूपमा लागु भएको हो ।
यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागु हुने नभई न्यारो बडी (ए३२०) र वाइड बडी (ए३३०) सिरिजका जहाजमा लागु हुने हो । ती जहाजमा आरएनपी–एआर प्रणाली लागु गर्न सकिने सिस्टम हुन्छ। तिवारीले भने अब गौतमबुद्ध विमानस्थलमा उडान–अवतरण गर्ने ए३२० र ए३३० स्तरका जहाजले यो प्रणाली लागु गर्नुपर्ने हुन्छ ।
आरएनपी–एआर प्रणाली लागु भए पनि विदेशी वायुसेवाका जहाजले उडान र अवतरण गर्न भने समय लाग्ने तिवारीले बताए ।
