आहारपूरक तथा सौन्दर्यवर्धक सामग्रीको बिक्री वितरणमा सृजना भएको समस्या र समाधानका लागि नेपाल आहारपूरक सौन्दर्यवर्धक संघ (एनएनसीए) र विभागका महानिर्देशक कुमार प्रसाद दाहाल बिच भेटघाट सम्पन्न भएको छ ।

एन एन सिएका अध्यक्ष विप्लव रञ्जितले बताए अनुसारः “विभागले जारी गरेको सूचना राज्यको कानुनी प्रक्रिया पालना गर्दै इमानदारीपूर्वक व्यवसाय गरिरहेका व्यवसायीहरूको हितका लागि ल्याइएको र राज्यको कानुन पालना गर्नुपर्ने हाम्रो पनि कर्तव्य रहेको अध्यक्ष रञ्जितले भने । आगामी दिनमा एनएनसीए र विभागबिच थप समन्वय र सहकार्यको वातावरण बन्नेमा समेत विश्वास व्यक्त गरे ।

वाणिज्य विभागले वैशाख १५ गते एक सूचना जारी गर्दै कस्मेटिक, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल उत्पादन तथा आयात गर्ने व्यवसायीहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित विभागमा सम्पर्क गर्न आह्वान गरेको थियो। उक्त सूचनामा उल्लेख भएअनुसार, विभागमा आएका उजुरी तथा गुनासोहरूमा केही व्यवसायीहरूद्वारा बजारमा एकाधिकार कायम गर्ने, कमसल बस्तु पैठारी गर्ने, मूल्य नियन्त्रणमा हेरफेर गर्नेजस्ता गतिविधि भएको सूचनामा उल्लेख छ। विभागले सम्पूर्ण व्यवसायीहरूलाई निम्न कागजातहरू सहित सम्पर्कमा आउन भनि ७ दिनको समय दिएको छ।

एनएनसीएले सम्बन्धित सम्पूर्ण व्यवसायी साथीहरूलाई विभागको सूचनाअनुसार तोकिएको समयसीमा भित्र आवश्यक कागजातसहित उपस्थित हुन विनम्र अनुरोध गरेको छ । साथै कागजातसँग सम्बन्धित कुनै अन्योल वा द्विविधा भएमा संघसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।

यसले स्वास्थ्यसम्बन्धी बस्तुहरूको गुणस्तर सुनिश्चित गर्नुका साथै उपभोक्ताको अधिकारको संरक्षणमा टेवा पुर्‍याउने विश्वास लिएको छ ।