नेपाल आहारपुरक सौन्दर्यबर्द्धक संघ (NNCA) केन्द्रिय समितिको दोस्रो वार्षिक साधारण सभा आज चितवनस्थित सोल्टी वेस्टर्न होटलमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा संघका केन्द्रीय पदाधिकारीहरू, प्रदेश प्रतिनिधिहरू, उद्योग व्यवसायी, सौन्दर्यबर्द्धक उत्पादक तथा वितरण व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभाको अध्यक्षता संघका अध्यक्ष विप्लव रञ्जितले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्षहरू विनोद बिष्ट, चन्दन न्यौपाने, महासचिव सुरज पौडेल, केन्द्रिय सदस्य सुदिपराज सुवेदी र संघका सल्लाहकार किशोर घिमिरे लगायतका पदाधिकारीहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।

महासचिव सुरज पौडेलले आफ्नो मन्तव्यमा संघको विगत वर्षको कार्यप्रगति र आगामी योजनाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले आहरपुरक सौन्दर्यबर्द्धक उद्योगलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन संघले अग्रसर रहिरहेको उल्लेख गर्दै, “व्यवसायिक आचारसंहिता, गुणस्तरीय उत्पादन र उपभोक्ताको विश्वास नै हाम्रो पहिचान हो,” भन्नुभयो। साथै उहाँले नीति निर्माण तहमा संघको सक्रिय भूमिका सुनिश्चित गर्न र सरकारी निकायहरूसँग सहकार्यलाई अझ प्राविधिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।

अन्य वक्ताहरूले पनि व्यवसायको चुनौती र सम्भावनाबारे धारणा राख्दै संघले आगामी दिनमा अनुसन्धान, जनचेतना र बजार व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए।
साथै अाहरपुरक सौन्दर्यबर्द्धक व्यवसायलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउने आवश्यकता औंल्याउँदै बजारमा गुणस्तरीय सामग्रीको प्रवर्द्धन, व्यवसायिक मर्यादा र उपभोक्ता विश्वासका विषयमा जोड दिएका थिए। उनीहरूले संघले आगामी दिनमा नीति निर्माण तहमा प्रभावकारी भूमिका खेल्ने तथा सरकारी निकायसँग सहकार्य गरेर व्यवसायको समस्या समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सभामा विगत एक वर्षको कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रमहरू प्रस्तुत गरी सर्वसम्मत अनुमोदन गरिएको थियो।

कार्यक्रमको समापन अध्यक्ष विप्लव रञ्जितले गर्नुहुँदै संघको संस्थागत सुदृढीकरण र सौन्दर्यबर्द्धक व्यवसायको दिगो विकासका लागि सबै सदस्य एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *