आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभा बैठकबाट पारित गर्ने अन्तिम प्रक्रिया अघि बढिरहेको छ। बजेट पारित हुनुअघि विभिन्न मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन तथा संसदीय मामिला मन्त्रीलगायतले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनेछन्। त्यस्तै, पूर्वाधार, ऊर्जा, परराष्ट्र र रक्षा मन्त्रालयका जिम्मेवार मन्त्रीहरूले पनि आजै संसदमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।

रक्षा मन्त्रालय प्रधानमन्त्रीले सम्हालेका कारण सो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्रीले नै दिनेछन्। यसका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमा उठेका प्रश्नहरूको समेत जवाफ दिने कार्यसूची रहेको छ।

मन्त्रीहरूको जवाफपछि विभिन्न मन्त्रालयका खर्च कटौतीसम्बन्धी प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्। कुल २० वटा खर्च कटौती प्रस्तावमाथि छलफल हुने र त्यसपछि विनियोजन विधेयकका दफाहरू पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।

अन्त्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *