अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताबाट प्राप्त म्यान्डेटका आधारमा बनेको सरकारले देशभरबाट संकलित करलाई आवश्यकता र प्राथमिकताअनुसार जिम्मेवारीपूर्वक उपयोग गर्ने बताएका छन्।
प्रतिनिधिसभामा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले विभिन्न क्षेत्रबाट संकलित राजस्व अन्ततः एउटै सञ्चित कोषमा जम्मा हुने र त्यसको परिचालन राष्ट्रिय आवश्यकता तथा जनहितलाई केन्द्रमा राखेर गरिने बताए।
उनले संसदबाट आवश्यक निर्देशन वा निर्णय प्राप्त भए विशेष प्रकृतिका कार्यक्रम तथा योजनाका लागि छुट्टै बजेट व्यवस्थापन गर्न सरकार तयार रहेको उल्लेख गरे। साथै, सार्वजनिक स्रोतको उपयोग गर्दा कानुनी तथा प्रशासनिक जटिलता नआउने गरी प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै पारदर्शी र प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गरेको स्पष्ट पारे।
