रोहित पौडेलको शतक र गुल्सन झाको आक्रामक ब्याटिङसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले पराजित गरेको छ। यो जितसँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो। क्यानडाका लागि अखिल कुमारले अविजित ३० रन बनाए। कप्तान हम्जा तारिक र श्रेयस मुभाले समान २६ रन जोडे भने ओपनर आरोन जोन्सनले ४४ रन बनाए। नेपालका सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको सुरुआत खराब रह्यो। आसिफ शेख ४, इशान पाण्डे शून्य र अर्जुन कुमाल २३ रनमा आउट हुँदा नेपालले ५६ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो।
त्यसपछि रोहित पौडेल र बसिर अहमदले चौथो विकेटका लागि ७७ रनको महत्त्वपूर्ण साझेदारी गरे। बसिर ५७ बलमा ३० रन बनाएर आउट भए। रोहितले भने एकतर्फबाट इनिङ्स सम्हाल्दै १२७ बलमा आठ चौका र एक छक्काको मद्दतले १०१ रन बनाए। उनी प्लेयर अफ द म्याचसमेत घोषित भए।
