नेपाली क्रिकेट टिमलाई आज युएईसँगको महत्वपूर्ण खेल भएको छ । यो खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछिको विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ । घरेलु मैदानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो ।
२१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी-२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो । यस्तै एक साता अघि मात्रै नेपाल र युएईबीचको त्रिकोणात्मक शृंखलामा फाइनल भयो जहाँ युएई विजयी भयो ।अब एउटा अर्को महत्वपूर्ण खेलको नजिक आइपुगेको छ । यहाँबाट एक टिमले मात्र अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको टिकट काट्नेछ । त्यसैले दुवै टोलीलाई यो खेलको उत्तिकै महत्व छ ।
विजयी हुने टिम टी-२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै टी-२० विश्वकपमा पनि छनोट हुनेछ । पराजित हुने टिमले विश्वकप पुग्दा केही वर्ष पर्खनुपर्नेछ ।
