चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा रहन भनिएको बताउनुभयो । उहाँका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस अर्थात् श्वासप्रश्वासमा असर गर्ने भाइरसले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ ।
कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले यो रोगको उपचार र रोकथामका लागि सबै निकायलाई सचेत गराइसकेको उहाँले जानकारी दिनुभयो । डा. बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा चेक जाँचमा पनि कडाइ गरिएको बताउनुभयो । चीनमा सङ्क्रमण देखिएको लामो समय भैसकेको छ ।
