ए दिल,

तिमी त्यो दिन मज्जाले मुस्कुराऊ

जुन दिन तिम्रो आमाले खुशीको सास फेर्नुहुन्छ।

अनि त्यो दिन, मज्जाले रोइदेऊ

जुन दिन तिम्रा बा’को सपना पुरा हुन्छ।

र बर्षातका छिट्टाहरु झैँ

तप्..तप गरि झर्दै भनुन् ,

ती आँसुका थोपाहरुले:

“थाहा छ?

एउटा आवस्यकता पुरा गर्न

कति रहरहरु मार्नुपर्छ?

र उस्तै,

एउटा सपना पुरा गर्न

कति संघर्षका डोपहरु बसाल्नु पर्छ?

त्यसै फुटेका होइनन् तिम्रा बा’का कुर्कुचाहरु

त्यसै फुटेका होइनन् तिम्रा आमाका हत्केलाहरु

हेरत,

लुकेका छन् संघर्षका कयौं कणहरु,

ती चीराहरु भित्र

अटेका छन् दुखका विशाल पहाडहरु

र सजिएका छन् ,

सुन्दर सपनाका महलहरु।

जाऊ अब,

जाऊ,

तिम्रो भविस्य बनाउँदा फुटेका ती

कुर्कुचा र हत्केलाहरुलाई

मज्जाले चुमिदेऊ।

✍️सरिता श्रेष्ठ ‘सरु’

रामेछाप

By admin