इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरलाई ७ विकेटले उसैको घरेलु मैदानमा पराजित गरेको छ । जितका लागि दिएको एक सय ८३ रनको लक्ष्य कोलकाताले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो।
कोलकाताका लागि वेंकटेश ऐयरले ३० बलमा सर्वाधिक ५० रनको योगदान दिए । उनले ३ चौका र ४ छक्का हिर्काए । त्यस्तै सुनिल नरेनले २२ बलमा ४७, फिल साल्टले २० बलमा ३० रन र कप्तान श्रेयस ऐयरले अविजित ३९ रन जोडे । बैंग्लुरुका लागि यश दयाल, मंयक डगर र विजयकुमारले एक-एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंग्लुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।
बेंग्लुरुका विराट कोहलीले ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गरी अविजित ८३ रन बनाए । त्यस्तै, क्यामरुन ग्रिनले ३३ रन तथा ग्लेन म्याक्सवेलले २८ रनको योगदान दिए । दिनेश कार्तिकले रनआउट हुनअघि २० रन बनाएका थिए । कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले दुई-दुई विकेट तथा सुनिल नरेनले एक विकेट लिए । दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यता ३ खेलमा दोस्रो हार बेहोरेको बैंग्लुरु छैटौँ स्थानमा सिमित बनेको छ ।
आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ ।
