२६ भदौ, काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ बढेको हो। बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
