बुटवलको होराइजन चोकमा एक महिलासहित दुईजना बालिकाको वीभत्स हत्या भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार होराइजन चोकस्थित मिलिजुली पथमा अन्दाजी ३४ वर्षीय दीपा बस्याल र उनका दुई छोरीहरू ७ वर्षीया स्नेहा  र ४ वर्षीया हिमानीको हत्या भएको हो। महिला र बालिकाहरूको हत्या गर्ने सुजन कोइराला रहेको र उनले आफ्नै दाजुको हत्या गरी जेल चलान भई केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ। 

हत्या गर्ने सुजन र मृतक दीपा पूर्वपतिपत्नी रहेको र केही वर्ष पहिले नै सम्बन्धविच्छेद भइसकेको प्रहरीले जनाएको छ। दीपाले सुजनसँग सम्बन्धविच्छेद गरी नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन्। सुजनले दीपालाई मंगलबार आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। तीनै जनाको शव घन र चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्या गर्ने सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ।