गृहमन्त्रालयले निर्वाचनको मितिबारे अहिले सम्म निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराएको छैन् । तथापि, आयोगले भने मतदाता संकलन गर्ने लगायतका बिषयमा छलफल सुरु गरिसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनु भयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ प्रतिनिधि सभाको निर्वाचन मिति घोषणापछि निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने भनिएको उपनिर्वाचन रद्द गरेको छ । यो क्षेत्रमा आगामी कातिक १७ गते उपनिर्वाचन गर्ने तय भएको थियो ।
मनाङको प्रदेश सभा क्षेत्र २ मा भने कात्तिक १७ मै उपनिर्वाचन हुने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेले भनेका छन्, ‘प्रदेशको हकमा अन्यथा निर्णय नभएकोले केही बोलिरहनुपरेन । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ मै उपनिर्वाचन हुन्छ ।’
