काठमाडौँ महानगरपालिकाले सडक रहेका कुकुर व्यवस्थापन र नियन्त्रणका लागि बन्ध्याकरण र खोप अभियान सुरु गरेको छ । महानगर भित्रका ३२ वटा वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि ५ वटा संस्थासँग सम्झौता गरिसकेको छ ।
महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट आवेदन आह्वान गर्दै मिति २०८२ असोज २२ सूचना जारी गरेको थियो । सोही अनुसार आवेदन दिएका मध्यबाट छनोट गरि ५ संस्था जिम्मा दिइएको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले ‘यो धर्ती कुकुरहरूको पनि हो’भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले बन्ध्याकरण कार्य व्यवसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौता अनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिए । न्यौपानेका अनुसार पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ । आगामी पौष महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा थप ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको छ ।
कृषि तथा पशुपंक्षी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार, बन्ध्याकरणका लागि क्याट सेन्टरले वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २०, क्याट क्लिनिकले वडा नम्बर ११, २१, २२, २४, २८ र ३०, मण्डला भेटनरी हस्पिटलले वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२, स्नेहाज केयर संस्थाले वडा नम्बर २, ८, १२, १३, १४ र २९ र एसपिसिए नेपालले वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ मा कुकुरको बन्ध्याकरण कार्य गर्ने गरि जिम्मा पाएका छन् ।
सम्झौता अनुसार, संस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण तथा खोप कार्य सञ्चालन गर्नुपर्नेछ । बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिर सहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्नेछ । यदि बन्ध्याकरण वा भ्याक्सिनेसन नगरी गरिएको दावी प्रमाणित भएमा सो संस्थालाई प्रतिजनावर एक लाख रुपैयाँ जरिवाना तथा सम्झौता रद्द गरी संस्था दर्ता खारेजीका लागि पत्राचार गर्ने सम्मको शर्तको व्यवस्था गरिएको छ । सम्झौता २०८३ सालको असार २० सम्म कायम रहनेछ ।
