काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता अनुसार माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले बुधवारदेखि फोहोर बिसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् ।
गत कात्तिक १६ गते सहरी विकास मन्त्री घिसिङ सहितको टोलीले बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेको थियो । सो छलफलमा मन्त्री घिसिङले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न गरिएको अवरोध हटाउन स्थानीय राजी भएका थिए । तर आज मंगलबारसम्म १६ दिन बितिसक्दा पनि मन्त्री र महानगरपालिकाबाट कुनै ठोस काम नभएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । उनीहरूले मन्त्री घिसिङको प्रतिबद्धता केवल आश्वासन मात्र भएको गुनासो गरेका छन् ।
