काठमाडौं, असोज ८ आज देशका अधिकांश भू-भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका केही स्थान तथा मधेश र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। मधेश तथा केही तराई क्षेत्रमा हावाहुरीसमेत चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा अधिकांश बदली रहने तथा विभिन्न स्थानमा वर्षाको सम्भावना कायम रहनेछ। कोशी र लुम्बिनीका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा राति पनि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

स्रोतः- मौसम पूर्वानुमान महाशाखा website बाट
