कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सि मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । यो नै अहिलेसम्मको उच्च भ्रमण हो कतारबाट यस अघि मन्त्रीहरुले भ्रमण गरेपनि अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका थिएनन् ।परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उनले मंगलबार र बुधबार नेपालको भ्रमण गर्न लागेको औपचारिक जानकारी दिएको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
कतारका अमिर नेपालसहित तीन एसियाली मुलुकको भ्रमणमा आइतबार निस्किसकेका छन् । दोहाबाट फिलिपिन्स उठेका उनी बंगलादेश हुँदै नेपाल आइपुग्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता गर्ने छन् । त्यसक्रममा दुई देशका बीचमा केही सम्झौता र समझदारीहरुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । अमिर बुधबार बेलुकी कतार फर्कने छन् ।
कतारी अमिर आज एशियाली देशको औपचारिक भ्रमणमा निस्कने र त्यस क्रममा उहाँले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले जानकारी दिनुभयो ।
