आइसिसी टी-२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोलीमा स्थान पक्का गरेसँगै बलिङ अलराउन्डर सोमपाल कामीले इतिहास रच्ने भएका छन्।
सोमपाल नेपालका लागि दुई वटा टी-२० विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने भएका हुन्।
यसअघि विश्वकप छनोटमा नेपाली टोलीमा रहेका विनोद भण्डारी विश्वकपको टोलीमा अटाउन नसक्दा नेपालका लागि दुई वटा विश्वकप खेल्ने एक्लो खेलाडी सोमपाल बन्दैछन्।
विगत १० वर्षदेखि नेपाली राष्ट्रिय टोलीबाट निरन्तर खेल्दै आएका सोमपालले वेस्ट इन्डिज र अमेरिकामा आगामी जुन १ देखि हुने टी-२० विश्वकप खेल्ने टोलीमा परेपछि खुसी व्यक्त गरेका छन्।
सोमपालले नेपालको लागि पहिलो टी-२० र पहिलो एकदिवसीय खेल्ने टोलीबाट समेत खेलेका छन्।
उनले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा हङकङविरूद्ध खेल्दै सोमपालले टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए।
