सरकार र बञ्चरे डाँडाका स्थानीयबासीबीच ११ बुँदे सहमति भएको छ । बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबीचको छलफल ११ बुँदे सहमतिसहित टुंगिएको हो । सहमति जुटेसँगै फोहोरमैला विसर्जनमा भएको अवरोध शुक्रबारबाट खुल्ने भएको छ ।

सहमति अनुसार सरकारले स्थानीयलाई विगतमा चलाइएको सार्वजनिक मुद्दा फिर्ता लिने भएको छ । यसका लागि स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गरिने भनिएको छ । भने आगामी आर्थिक बर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम अगाडि बढाउने सहमति समेत जुटेको छ ।

बञ्चरेडाँडा स्थानीयका लागि तत्काल चालु आव २०८२/८३ को घरटहरा तथा बालीको मुआब्जा दिन काठमाडौं महागरपालिकालाई पत्राचार गर्ने निर्णय पनि भएको छ । साथै, महानगरले एक महिनाभित्र बञ्चरेडाँडा क्षेत्रका अतिप्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई दिइएको आधारमा बञ्चरेका हकमा समेत सोहीलाई आधार मानेर क्षतिपूर्ति दिने सहमति जुटेको छ ।

बञ्चरे र सिसडोलका अतिप्रभावित क्षेत्रका स्थानीयलाई विशेष कार्ड व्यवस्था वा अन्य कुनै माध्यमबाट काठमाडौं महागरपालिकाभित्रका कुनै पनि सरकारी अस्पतालमा जुनसुकै रोग लागे पनि नि:शुल्क उपचारको व्यवस्था अबको एक महिनाभित्र मिलाउने सहमति भएको छ । शिक्षाका सन्दर्भमा काठमाडौं उपत्यकाभित्रका स्कुल, कलेजमा अनिवार्य कोटाको व्यवस्था एक महिनाभित्र गर्ने सहमति जुटेको छ ।