बुटवल, असोज ९ ।
पाल्पा बुटवल क्षेत्रमा भइरहेको लगातारको भारी वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढ्दै गएको छ। नदीको बहाव बढेसँगै बुटवलका तिनाउ नदी तथा खोला किनारमा रहेका बस्तीहरूमा जोखिम बढेको छ।

जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने काम अहिले भइरहेको छ। विशेषगरी तिनाउ नदीको पुलमुनि र नदी किनार नजिक रहेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा लैजान नेपाल प्रहरी र बुटवल उपमहानगरपालिकाको नगर प्रहरी परिचालन गरिएको छ।
सुरक्षाकर्मीहरूले नदी किनारका बस्तीमा पुगेर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छन्। आवश्यक परे तत्काल उद्धार गर्न सकिने गरी सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ।
तिनाउ नदीको बहाव निरन्तर बढिरहेको भन्दै मापन केन्द्रले समेत सतर्क रहन आग्रह गरेको छ। वर्षा अझै जारी रहेकाले नदी किनार तथा खोला आसपासका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
