नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत् फोन गर्न सक्ने भएका छन्। चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत् टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो।पहिले सो क्षेत्रमा भिस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए। अब भने टिंकर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन्।
यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने कम्पनीले बताएको छ।
