बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ। सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो। देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ। यस्तै उपबिजेता नवीन औद्योगिक माविले ६० हजार पाउँदा सेमीफाइनलमा पुग्ने उजिरसिंह मावि र एभरेष्ट माविले १८-१८ हजारका दरले पुरस्कार पाएका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार अक्सफोर्ड माविका टीम क्याप्टेन सुजलमान घले, उत्कृष्ट गोलकिपर अक्सफोर्डकै डेभिड थापा, उत्कृष्ट मिडफिल्डर अक्सफोर्डकै रमित नाम्जाली मगर र सर्वाधिक गोलकर्ताको पुरस्कार अक्सफोर्डकै अस्मित शर्माले पाएका छन्। यस्तै उत्कृष्ट डिफेन्डरको पुरस्कार नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्डको पुरस्कार नवीनकै विजन सूर्यवंशीले पाएका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाएका छन्।

बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *